• hamrorajakot582@gmail.com
  • Kalamkhola, Dang, Nepal

राजेन्द्र घर्ती (अध्यक्ष)

दंगीशरण गाउँपालिकाको सहकारी संस्था दर्ता ऐन २०७४ को परिच्छेद २ को दफा ६(१) बमोजिम वि.सं. २०७९ फाल्गुन २८ गते विधिवत रुपमा दर्ता भई सञ्चालनमा आएको यस सहकारी संस्थाले विभिन्न आरोह अवरोहहरु पार गरी जटिल परिस्थितिहरुको सामना गर्दै आजको अवस्था सम्म आई पुगेको छ ।

सहकारीको मर्म, सिद्धान्त र अवधारणा भनेकै परिस्थिती जस्तो सुकै होस् सदस्यहरुमा एक आपसमा हातेमालो र सहकार्य गर्दै अघि बढ्नु हो । तसर्थ, यो संस्था पनि असहज परिस्थितीको सामना गरिरहेका आफ्ना सदस्यहरुसंग हातेमालो गर्न पछि हट्ने कुरै भएन । समाजमा उद्यमशिलताको सिर्जना भए मात्रै स्थानिय स्तरमा रोजगारीको अवस्था सिर्जना हुन्छ । रोजगारीमा बृिद्धभए मात्रै आय तथा उपभोगमा बृद्धि हुन्छ । आय तथा उपभोगमा हुने बृद्धिका कारण व्यक्तिको जिवनस्तरमा बृद्धि भई समग्र समाजको आर्थिक हैसियत सकारात्मक हुन सक्छ ।

यही मान्यतालाई स्थापित गर्न हामीले कृषि वन उद्यमको विकास सँगै संस्थाका पञ्च वर्षिय रणनीतिक तथा व्यावसायिक योजना निर्माणबाट ‘हरित उद्यम, समृद्ध जीवन’ भन्ने नारा तय गरेका हौं । समृद्धि एकल प्रयासले सम्भव हुने कुरो होईन यसका लागि सबैसँग हातेमालो गर्दै अघि बढ्नु पर्ने हुन्छ ।

समूदायका सबैसँग हातेमालो गर्ने सबैभन्दा उपयुक्त माध्यम एवं सरल सञ्जालका रुपमा हामी यस संस्थालाई स्थानीय समुदाय माझ अघि सार्न चाहन्छौं । समुदायको सहज जिवन यापनका लागि हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था समुदाय संग–संगै हिड्न प्रतिबद्ध छ । उद्यमशिलता प्रवद्र्धनका लागि स्थानिय स्तरमा अपार सम्भावना रहेको र प्रशस्त साधनस्रोत रहेको कृषि वन क्षेत्र हाम्रो प्राथमिकताको क्षेत्र हो । कृषि वनलाई सदस्यको मुख्य व्यवसायिक एवं समुदायको आर्थिक क्षेत्रका रुपमा स्थापित गर्न सके ठूला अवसरहरु प्राप्त गर्न सकिने मात्र नभई समग्र समुदायको आर्थिक हैसियत बदल्न सकिन्छ भन्ने हाम्रो मान्यता हो । कृषि र वनलाई सम्मानित पेशाका रुपमा स्थापित गरि आदिवासी जनजाति, महिला, दलित, युवा एवं पिछडिएको वर्ग र बेरोजगारीहरुका लागि आकर्षणको केन्द्र बनाउन संस्थाले विगत देखिनै केहि क्रियाकलापमा जोड दिदै आएको छ । त्यसैले यस कृषि वन उद्यम विकासमा सबै एकजुट भएर लाग्नका लागि यस संस्थामा आबद्धताको लागि दंगीशरण गाउँपालिका भित्र रहेका स्थानीय समुदायलाई हार्दिक अनुरोध गर्दछु ।